
काठमाण्डू, १९ जेठ–आन्दोलनरत राजावादी समूहहरुबीच उपत्यका बन्द गर्ने विषयलाई लिएर विवाद भएको छ ।
‘राजतन्त्र पुनस्र्थापनाका लागि गठित’ संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति गरेर आज उपत्यका बन्दको उपत्यका बन्दको घोषणा गरेका थिए । तर, प्रमुख राजावादी घटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बन्दमा सहभागी नहुने भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपत्यका बन्दको कार्यक्रममा आफ्नो दल सहभागी नहुने बताएका छन् । आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत लिङनेदले पक्राउ परेका नेता कार्यकर्ता रिहाई भइसकेकाले बन्दको कार्यक्रममा सहभागी नहुने बताए ।
‘सामान्यतया राप्रपा बन्द हडताल जस्तो अलोकप्रिय कार्यक्रमको विपक्षमा छ ।
आज सरकार तर्फबाट पक्राउ परेका नेता कार्यकर्ताहरूको रिहाइको विशेष सन्दर्भमा उपत्यका बन्दको प्रसंग उठेको भए पनि पक्राउ परेका नेता कार्यकर्ताहरू रिहा भइसक्नुभएको हुँदा भोलि (सोमबार) हुने भनिएको उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने जानकारी गराउँछु’, उनले लेखेका छन् ।
लिङदेनले आन्दोलनका अन्य नियमित कार्यक्रममा सल्लाहबाट निर्णय भएपश्चात सक्रिय सहभागिता रहने पनि बताए ।
निषेधित क्षेत्र तोड्ने क्रममा आइतबार पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य दीपक सिंहलगायत ७ जनालाई प्रहरीले आइतबार राति छाडेको छ ।