
काठमाण्डू, १८ जेठ– त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको कार्यालयमा तोडफोडमा संलग्न सत्तारुढ काँग्रेसनिकट नेपाल विद्यार्थी संघका कार्यकर्तामाथि कारबाही प्रक्रिया अघि बढेको जनाएको छ ।
त्रिवि रजिस्ट्रार कार्यालयअन्तर्गतको सूचना तथा जनसम्पर्क महाशाखाले शनिबार विज्ञप्ति जारी गरेर उपकुलपतिको सचिवालय तोडफोड गर्ने तथा पदाधिकारीहरूलाई धम्की तथा आक्रमण गर्न खोज्नेमाथि कानूनी कारबाहीको प्रक्रिया अघि बढेको जनाएको हो ।
स्नातह तहको परीक्षा फाराम खुलेपछि खुलिसकेपछि नयाँ विद्यार्थी भर्नाको माग राखेर नेविसंघका विद्यार्थीले १४ जेठमा कार्यबाहक उपकुलपति डा. खड्ग केसीको सचिवालयमा तोडफोड गरेका थिए ।
त्रिविले तोडफोडबाट भएको भौतिक सम्पत्ति क्षतिको हानी नोक्सानी घटनामा संलग्नहरुबाटै भराइने जनाएको छ ।
‘त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयमा प्रवेश गरी उपकुलपतिको सचिवालय तोडफोड गर्ने, पदाधिकारी एवं कर्मचारीलाई भौतिक आक्रमण गर्न खोज्ने कार्य भएकोले उक्त गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानून बमोजिम कारवाही तथा भौतिक सम्पत्तिको हानि नोक्सानीको क्षतिपूर्ति भराउन आवश्यक कानूनी प्रक्रिया अगाडि बढाइएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
विश्वविद्यालयका केन्द्रीय पदाधिकारीलाई भौतिक रुपमा आक्रमण गर्ने गरी फोनमार्फत धम्की दिने, सामाजिक सञ्जालको प्रयोग गरी पदाधिकारीको चरित्र हत्या गर्ने कायैमा संलग्नमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको त्रिविले जनाएको छ ।
कार्यबाहक उपकुलपति खड्ग केसीले कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओली, सह–कुलपति एवं शिक्षा, विधान तथा प्रविधिमन्त्री रघुजी पन्त र प्रहरी नेतृत्वलाई घटनाबारे जानकारी गराएका थिए ।
तर, सत्ताघटक काँग्रेसका विद्यार्थी संलग्न भएका कारण दोषीमाथि कारबाही गर्नेबारे ओली र पन्तसहित प्रहरी नेतृत्वले चासो नदिएको त्रिविका पदाधिकारीको गुनासो छ ।