
काठमाण्डू, १८ जेठ– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जनवादी हङकङबाट स्वदेश फर्किएका छन् ।
राणा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर गएराति स्वदेश फर्किएकी हुन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा सो समारोहमा सहभागी हुन मन्त्री राणा गत बुधबार हङकङ प्रस्थान गरेकी थिइन् । नेपाल सो सङ्गठन स्थापना गर्ने सम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा पर्यवेक्षकका रुपमा सहभागी भएको हो ।
उक्त महासन्धिमा ३२ मुलुकले हस्ताक्षर गरेका थिए भने हस्ताक्षर गर्ने सो समारोहमा ५० भन्दा बढी मुलुक र २० भन्दा बढी अन्तर्राष्ट्रिय सङ्घसङ्गठन सहभागी भएका थिए ।
उक्त सङ्गठनले विभिन्न देशबीच, एक देश र अर्को देशको कम्पनी वा नागरिकबीच एवं विभिन्न मुलुकका निजी व्यवसायहरूबीचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ ।
कार्यक्रमका सिलसिलामा मन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । भेटका अवसरमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्दै जाने विषयमा कुराकानी भएको जानकारी मन्त्री राणाले दिइन् ।
उनले भेटघाटमा नेपाल र चीनबीच आर्थिक, प्राविधिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजनाहरू समयमै सम्पन्न गर्ने विषयमा कुराकानी भएको बताइन् ।
‘यसवर्ष अर्थात् सन् २०२५ नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षगाँठ परेकोले यस अवसरलाई विशेष कार्यक्रमहरूसहित मनाउने र दुई मुलुकबीच उच्चस्तरीय भ्रमणहरू आदानप्रदान गर्ने कार्यलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको छ’, उनले भनिन् ।
मन्त्री राणा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एशिया महाशाखाका प्रमुख भृगु ढुंगाना र हङ्गकङ्गस्थित नेपालका महावाणिज्यदूत विन्देश्वरप्रसाद लेखक लगायत परराष्ट्र मन्त्रालय र महावाणिज्यदूतावास हङकङका प्रतिनिधि सहभागी थिए ।