
ललितपुर, १७ जेठ– कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसभित्र सभापति शेरबहादुर देउवाभन्दा राम्रोसँग प्रधानमन्त्री चलाउन सक्ने दर्जनौं नेताहरू रहेको दाबी गरेका छन् ।
शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सभापति देउवाभन्दा राम्ररी प्रधानमन्त्री चलाउन सक्ने व्यक्तिहरू कांग्रेसभित्र रहेको बताएका हुन् । ‘अहिलेको सभापति अबको १२÷१५ महिनापछि प्रधानमन्त्री हुने भन्ने छ । तर म के विश्वास गर्दछु भने उहाँभन्दा मेरो पार्टीभित्र अरु दर्जनौँ मान्छेले राम्रो प्रधानमन्त्री चलाउँछ,’ महामन्त्री थापाले भने ।
कार्यक्रममा महामन्त्री थापाले ठूला दलका शीर्ष नेताहरुले विश्राम लिएको अवस्थामा अहिलेको आन्दोलन त्यत्तिकै सेलाउने पनि दाबी गरेका थिए ।
उनले एउटै मान्छे लामो समयसम्म एउटै भूमिकामा रहनु र नेतृत्वमा रहिरहनु गणतन्त्रको सबैभन्दा ठूलो समस्या रहेको बताए । ‘आजको दिनबाट हामीले आफ्नो आफ्नो तहबाट विश्राम लिन्छौँ भन्नुभएको दिनको बेलुकाबाट यो आन्दोलन झर्छ । भोलिपल्टदेखि सबै घर फर्किन्छन् । केही पनि बाँकी रहँदैन’, थापाले भने ।
यद्यपि शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिँदैमा सबै सुध्रिन्छ भन्नू गलत हुने उनले बताए । महामन्त्री थापाले कहिल्यै पनि नेपालको राजसंस्थालाई संवैधानिक बनाउन नसकिने पनि स्पष्ट गरे । उनले नेपालमा राजतन्त्र ल्याउँछु भनेर लडिसकेपछि बार्गेनिङ भन्दा सिधा कुरा गर्न मैदानमा आउन चुनौती दिए ।
‘राजतन्त्रको लिडर ज्ञानेन्द्र शाह म नेपालमा राजतन्त्र ल्याउँछु भनेर लडिसकेपछि यो सट्टापट्टाको बार्गेनिङको कुरा नगरौँ अब । सिधा आउनुपर्छ, मैदानमा आउनुपर्छ’ उनले भने ।
उनलाई राजनीतिक दल र जनताले प्रश्न गर्ने र त्यसको जवाफ खोज्ने महामन्त्री थापाले बताए । ‘राजतन्त्र आएर गर्ने चाहिँ के हो ? योजना के हुन् ? रोजगारीको समस्या अहिलेको सबैभन्दा ठूलो समस्या हो, त्यसको समाधान के हो ? उनले भने, ‘यस्ता कुराहरूको जबाफ दिनुपर्छ । आजको प्रश्नको उत्तर दिन सक्दैन भने मान्छे हिजो फर्किन्छ ।’
न्युज एजेन्सी नेपाल