
काठमाण्डू, १७ जेठ– कर्णाली राजमार्ग मर्मतका लागि चार दिन बन्द हुने भएको छ ।
कर्णाली राजमार्गको खुलालु–लालीघाट सडकखण्ड आगामी मंगलबारदेखि चार दिन सवारी आवागमन पूर्ण रुपमा बन्द हुने भएको हो ।
सडक बन्द हुँदा कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई असुविधा हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवालाको बैठकले सडक स्तरोन्नतिका लागि चार दिन बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताए ।
उनले कर्णाली राजमार्ग हुँदै आएका गाडी जिते हुल्ममा रोकिने र हुम्ला, बाजुरा र कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका, रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र पलाता गाउँपालिकाबाट आएका गाडी लालीघाटमा रोकिएर यात्रुलाई गन्तव्यमा पठाउन सकिने बताए ।
सडक डिभिजन कार्यालयबाट ठेक्का सम्झौता भई निर्माणाधीन खुलालु–लालीघाटसडकखण्डमा आवश्यक संरचना निर्माण र मर्मतका लागि सवारी आवागमन रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
निर्माण कार्य सहज बनाउन करिडोरको करिब एक किलोमिटर खण्ड चार दिन बन्द गर्नुपरेको प्रशासनले जनाएको हो । उक्त ठाउँ साँघुरो र अप्ठ्यारो छ ।