विदेश भ्रमणमा लाग्दै आएको ५ प्रतिशत कर खारेज

काठमाण्डु टुडे २०८२ जेठ १६ गते १६:३५ मा प्रकाशित

काठमाण्डू, १६ जेठ– सरकारले विदेश भ्रमण जाँदा लिँदै आएको शुल्क आगामी आर्थिक वर्ष ०८२–८३ देखि लागु हुने खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयक ०८२ मार्फत उक्त शुल्क सम्बन्धी व्यवस्था हटाएका हुन् ।

कोरोना महामारी लगत्तै अर्थतन्त्रको वाह्य क्षेत्रमा परेको दबाबका कारण सरकारले वैदेशिक पर्यटन निरुत्साहित गर्न विदेश भ्रमणमा जाने नेपालीका लागि ५ प्रतिशत शुल्क उठाएको थियो । विदेशी विनिमय सञ्चितिमा परेको दबाब रोक्न आयात निरुत्साहितदेखि वैदेशिक भ्रमणमा कडाइ गरेको थियो ।

तर, पछिल्लो समय १४ महिनाभन्दा धेरैको वस्तु तथा सेवा आयातका लागि पर्याप्त हुने विदेशी मुद्रा सञ्चिति भए पनि सरकारले उक्त व्यवस्था हटाएको हो । सरकारले २०८० देखि लगाउँदै आएको यस्तो शुल्क २ वर्षपछि खारेज गरेको हो ।

सरकारले २०८० को आर्थिक ऐनदेखि पर्यटकका रूपमा भ्रमणका लागि विदेश जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा ५ प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लगाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us