विनियोजन कुशलतामा सचेत भएर बजेट ल्यायौंः अर्थमन्त्री

काठमाण्डु टुडे २०८२ जेठ १६ गते १४:२६ मा प्रकाशित

काठमाण्डू, १६ जेठ– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन कौशलतामाथि सचेत भएर आगामी आर्थिक वर्ष ०८२–८३ को बजेट ल्याइएको बताएका छन । आज शुक्रबार अर्थ मन्त्रालयमा आयोजित ‘पोस्ट बजेट’ छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन । उनले विगतमा आलोचित बनेका विषयलाई बजेटले सच्याएको समेत दाबी गरेका छन ।

आयोजनामा ३ करोडको मापदण्ड निर्धारण गरेर त्यसमा अडिग बढेको पनि बताएका छन । विकासमा असीमित आकांक्षा, सीमित स्रोतबीच, यो सीमामा रहनु चुनौतीपूर्ण रहेको उनको भनाइ छ । मितव्ययिता कायम राख्दै चालु खर्च सन्तुलनमा राख्ने प्रयास सरकारले गरेको पनि उनले बताए ।

बजेट कार्यान्वयनका लागि आर्थिक वर्षको सुरुसम्म नै कुर्नु नपर्ने गरी व्यवस्था गरिएको पनि अर्थमन्त्री पौडेलले बताए । आयोजना तयारीको काम आजै खरिद प्रक्रियामा जान सकिने व्यवस्था गरिएको समेत उनले बताए । २५ करोडभन्दा माथिका आयोजनाको ड्यासबोर्डमा राख्नुपर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

अनुदान लागतबारे सोच्नुपर्ने अवस्थामा अधिकतम सीमा ५० प्रतिशतको सीमा कायम गरिएको उनले बताए । संघीय ढाँचामा सन्तुलिन बजेट बनाउन सकुन् भन्नेमा ध्यान दिइएको उनले बताए । वन क्षेत्रका जटिलता हटाउने प्रयास गरिएको समेत उनको दाबी छ । सामाजिक सुरक्षा खर्च थप व्यवस्थित गरिएको र पछाडि परेको समुदायलाई प्राथमिकता दिइएको बताए ।

भन्सार बिन्दुमा अग्रिम आयकर हटाइएको भन्दै उनले कर हट्दा र रहँदा राजस्वमा पर्ने प्रभावबारे विश्लेषण गरेर हटाइएको बताए । अबको ध्यान कार्यान्वयनमा जाने उनको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us