
काठमाण्डू १५ जेठ– पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार बलियो भनिए पनि बलियो बजेट ल्याउन नसकेको तर्क गरेका छन । बजेटबारे उपमहासचिव पुनले भने, ‘बलियो सरकार हो, बलियो खालको बजेट आउनुपथ्र्यो ।
तर आशा जगाउन सकेन ।’ बजेटको आकार बढेपनि छरिएर आएको उनले बताएका छन । उनले भने, ‘आकार अलि ठूलो भयो । गत वर्ष भन्दा एक खर्ब एक अर्ब ठूलो छ । संशोधित अनुमान हेर्दा झन् ठूलो आकार (२० प्रतिशत भन्दा बढी) को आएको छ । तर अलि छरिएर के गर्न खोजेको भन्ने देखिएन’ उनले भने ।
पुनले आफूले चालु आर्थिक वर्षका निम्ति प्रस्तुत गरेको बजेटसँग यो बजेटलाई तुलना गरेका छन् । ‘गत वर्ष बजेटमा हामीले अर्थतन्त्र रुपान्तरणका पाँच क्षेत्र भनेका थियौं । अहिले कुन क्षेत्र फोकस हो, त्यो पनि छैन’ उनले भने, ‘सात प्रदेशलाई सात वटा विशेषतामा विकास गर्ने भनिएको थियो । त्यसबारे केही बोलेको छैन ।
गण्डकी आर्थिक त्रिभुज लगायतको चर्चा थियो । यसपटक त्यस्ता पनि छैनन् ।’ त्यसैले अर्थतन्त्र चलायमान र आशावादी बनाउनेगरी नआएको उनको प्रतिक्रिया छ । ‘आशा जगाउने, अर्थतन्त्र चलायमान बनाउने भन्दा पनि जस्तो छ, नियमित रुपले गर्यौं भन्ने खालको नियमत बजेटका रुपमा आएको छ ।’