
काठमाण्डू १५ जेठ– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफूहरूले दिएका अधिकांश सुझावहरू बजेटमा समेटिएको भन्दै खुसी व्यक्त गरेका छन ।
आज (बिहीबार) संसद् भवन परिसरमा सञ्चारकर्मीलाई बजेटबारे प्रतिक्रिया दिने क्रममा उनले सबै सुझाव हरु समेटिएको भन्दै खुसि व्यक्त गरेका हुन । उनले भने, ‘अहिलेको बजेटले नीजि क्षेत्रलाई ड्राइभिङ सिटमा राखेर महत्व दिनुभएको छ । त्यो हिसाबले पनि अगाडिभन्दा फरक हुन्छ भन्ने आशा हो ।’
साथै, उनले महासंघले महत्त्वकांक्षी बनाउनेजस्तो भए पनि कार्यान्वयनको पाटोमा ध्यान दिन आग्रह समेत गरेका छन । ‘महासंघले दिएका सुझावहरूमध्ये धेरै समेटिएको छ । बजेटहरू सरसर्ती आउँदा बजेट पढ्ने बेलामा राम्रैजस्तो लाग्छ, कार्यान्वयन चाहिँ त्यो अनुसार नहुने हुन्छ । महासंघले त्यसलाई हेरेर बाँकी कुरा भन्छ ।’
उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएको सुझाव पनि कार्यान्वयन गर्दै जानुपर्ने अवस्था रहेको पनि उनले बताएका छन । वृद्धभत्ताको उमेर ७० वर्ष पुर्याउने सुझाव आफूहरूले दिएको उनले बताए ।
‘सामाजिक सुरक्षा भत्ता ७० वर्ष बनाउने हाम्रो सुझाव थियो । निजी क्षेत्र उत्साहित छ । लगानीको वातावरण पनि बढ्छ, ‘राजस्वको लक्ष्य महत्वकांक्षीजस्तो देखिन्छ । राजस्व संलकनको कुरा गर्दा व्यावसायिक गतिविधि बढाउनुपर्छ ।’