फागुनसम्म करिब १० हजार उद्योग दर्ता

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १५:५० मा प्रकाशित

काठमाण्डू १५ जेठ– उद्योग विभागमा २०८१ फागुनसम्म ९ हजार ९ सय ६३ उद्योग दर्ता भएका छन । संसद्मा प्रस्तुत चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार दर्ता भएका उद्योगमध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १५ प्रतिशत, २२ प्रतिशत र ६३ प्रतिशत रहेको छ ।

यस अवधिसम्मको कुल स्वीकृत लगानी ३२ खर्ब ४८ अर्ब ७ करोडमध्ये ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः ८३ प्रतिशत, १० प्रतिशत र ७ प्रतिशत रहेको छ ।

यी उद्योगबाट २०८१ फागुनसम्म ७ लाख ३१ हजार ५ सय ६० रोजगारी सिर्जना हुने अनुमान रहेको छ । ०८१ फागुनसम्म दर्ता भएका उद्योग संख्याका आधारमा उत्पादनमूलक, सेवामूलक र पर्यटन उद्योगको हिस्सा क्रमशः ३५.८४ प्रतिशत, २५.७९ प्रतिशत र २३.१० प्रतिशत रहेको छ । सबैभन्दा न्यून पूर्वाधारसम्बन्धी उद्योगको ०.७६ प्रतिशत रहेको छ ।

फागुनसम्म लगानीका आधारमा ऊर्जामूलक उद्योगमा ५६.५५ प्रतिशत, उत्पादनमूलक उद्योगमा २०.९६ प्रतिशत, पर्यटनमूलक उद्योगमा ९ प्रतिशत र सबैभन्दा न्यून खनिज उद्योगमा ०.२९ प्रतिशत लगानी स्वीकृत भएको छ । चालु आर्थिक बर्षको फागुनसम्म उद्योग विभागमा थप ४ सय ३८ उद्योग दर्ता भई १ खर्ब ७१ अर्ब ३६ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ ।

यस्ता उद्योगको सञ्चालनबाट २३ हजार ६४ रोजगारी सिर्जना हुने अनुमान रहेको छ । चालु आ.व फागुनसम्म उद्योग विभागमा दर्ता भएका जम्मा ४ सय २७ परियोजनामा ४४ अर्ब ६६ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ ।

यस्तो स्वीकृत लगानी गत आव सोही अवधिको तुलनामा ५३.३ प्रतिशतले बढी हो । २०८१ फागुनसम्म उद्योग विभागमा दर्ता भएका ६ हजार ९ सय ८२ परियोजनामा ५ खर्ब ६४ अर्ब ५९ करोड बराबरको विदेशी लगानी स्वीकृत भई उद्योग सञ्चालनबाट ३ लाख ३९ हजार ६ सय ७५ रोजगारी सिर्जना हुने अनुमान रहेको छ ।

त्यस्तै गत फागुनसम्म स्वीकृत वैदेशिक लगानीमध्ये सेवामूलक क्षेत्रमा २९.३ प्रतिशत, ऊर्जामूलक क्षेत्रमा २५.५, पर्यटन क्षेत्रमा २४ र उत्पादनमूलक क्षेत्रमा १४ प्रतिशत लगानी रहेको छ । खनिज क्षेत्रका उद्योगमा सबैभन्दा न्यून १.५ प्रतिशत विदेशी लगानी स्वीकृत भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us