
काठमाण्डू, १५ जेठ– माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ईटाभट्टामा जिउँदै मानिस जलाउने कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई सफाई दिने न्यायाधीशहरुलाई नेपाली जनताले कहिल्यै नबिर्सने टिप्पणी गरेका छन् ।
न्यायाधीशहरुले आलमलाई सफाइ दिएर कलंकको कालो टिका लगाएको टिप्पणी उनले गरे । उक्त फैसला भएको दिन न्यायिक इतिहासमा कालो दिनमा परिणत गरेको भन्दै न्यायाधीशहरुलाई उनले ‘बहादुर’ को संज्ञा दिए ।
‘हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाइ दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रूपमा दर्ज भएको छ’, श्रेष्ठले भने ।
अपराधमा संलग्न व्यक्तिहरू समाजमा निर्दोष बन्दै हिँड्ने स्थितिले समाजमा र आम नागरिकमा कस्तो कहाली लाग्दो स्थिति उत्पन्न हुने भन्दै यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरे ।
जिल्ला अदालत रौतहटको फैसला उल्ट्याउँदै न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले बुधबार आलमलाई सफाई दिएको थियो ।