प्रभु साहको आरोपः ओली र देउवा नक्कली गणतन्त्रवादी

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १४:४२ मा प्रकाशित

काठमाण्डू १५ जेठ– आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सडकमा तमासा देखाइरहेको बताएका छन । अहिलेको संकट समाधानका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिएर अन्तरिम सरकार गठन गर्नुपर्ने उनको तर्क छ ।

आज (बिहिबार) गणतन्त्र दिवसको सन्दर्भ आम जनता पार्टी (आजपा) काठमाण्डू उपत्यका विशेष कमिटीको आयोजनामा आयोजित ‘वर्तमान व्यवस्था दलतन्त्र कि गणतन्त्र ?’ विषयक विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीलाई राजीनामा गर्न सुझाव दिए । अहिलेको संकटको समाधान गर्नका लागि अन्तरिम सरकार गठनको आवश्यकता रहेको उनले पनि उनले बताए ।

उनले भने, ‘अहिलेको व्यवस्थाले कोही पनि सन्तुष्ट छैनन् । पूर्वराजादेखि अहिलेका दलका राजाहरूले सडकमा नाटक गरिरहेका छन्,’ आजपा अध्यक्ष साहले भने, ‘म प्रधानमन्त्रीलाई भन्न चाहन्छु, सडकमा तमासा गरेर केही हुँदैन । तपाई राजीनामा दिनुस्, देशलाई निकास दिनुस् । अन्तरिम सरकार गठन गरेर अगाडी बढौँ ।’

गणतन्त्र नेपालमा हात्तीको देखाउने दाँत जस्तै भएको टिप्पणी गर्दै उनले राजतन्त्रमा पनि पञ्चायतको नाममा जनतालाई झुक्याउने काम भएको पनि बताएका छन । गणतन्त्रमा पनि नेताहरुले लुटको समराज्य खडा गरेको बताउँदै उनले अहिलेका नेताहरू भगौडा दलाल वर्गको प्रतिनिधित्व गरिरहेको पनि बताएका छन ।

उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नक्कली गणतन्त्रवादी भएको दाबी गरे । पार्टी एण्ड कम्पनीको शासन व्यवस्था भएकाले नेपाली जनता असन्तुष्ट रहेको बताउँदै उनले नक्कली गणतन्त्रवादी ओली र देउवाले गणतन्त्रकै बद्‍नाम गरेको पनि उनले बताएका छन ।

उनले भने, ‘जोगीको भेषमा सीताको अपहरण भयो । त्यस्तै गणतन्त्रको नाममा नक्कली गणतन्त्रवादी ओली, देउवा एण्ड कम्पनीको शासन छ । गणतन्त्रको खोल ओढेर लुटको साम्राराज्य खडा गरिएको छ । आम निर्वाचनमा कांग्रेसले एमालेको सरकार बनाउँछौँ र एमालेले कांग्रेसको सरकार बनाउँछौं भनेर मतदातासँग मत मागेको होइन ।

तर यहाँ अप्राकृतिक, अवैधानिक गठबन्धनले लुटको समराज्य खडा गरिएको छ । ’ अहिलेको सरकार र गठबन्धनले नेपालमा लुटेर विदेशमा नेपालको पूँजी लैजाने वर्गको संरक्षक भएको बताउँदै उनले सरकारले पनि त्यही वर्गको पक्षपोषणमा जुटेको बताए ।

जनताको सर्वोच्चतालाई लोकतन्त्र भन्ने गरिएको भए पनि नेपालमा दलको सर्वोच्चता रहेकाले यसलाई लोकतन्त्र मान्न नसकिने साहले बताए । नेपालमा लोकतन्त्र नभई दल र छोटे राजाहरूको लुटतन्त्र र सिन्डिकेट रहेको बताउँदै उनले यसलाई लोकतन्त्र मान्न नसकिने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us