ज्ञानेन्द्र शाह चुनाव जितेर प्रधानमन्त्री बन्न सक्छन्ः माधव नेपाल

काठमाण्डु टुडे २०८२ जेठ १५ गते १३:१८ मा प्रकाशित

काठमाण्डू, १५ जेठ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानन्त्री माधवकुमार नेपालले शासन सत्तामा फर्कन रहर भए चुनावमा भाग लिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् ।

गणतन्त्र दिवसका अवसरमा बिहीबार पार्टीद्वारा राजधानीमा आयोजित कार्यक्रममा नेपालले चुनावी प्रतिस्पर्धामार्फत जनमत ल्याएर प्रधानमन्त्री बन्न शाहलाई सुझाव दिएका हुन् ।

जनताले आन्दोलनको बलमा फालेको निरंकुश राजतन्त्र अब फर्कन सम्भव नरहेको उनको भनाइ थियो । ‘जनताले फालेको अब निरंकुश राजतन्त्र फर्कन अब सम्भव छैन’, नेपालले भने, ‘ज्ञानेन्द्र शाहलाई सत्तामा फर्कन मन भए चुनाव जितेर प्रधानमन्त्री बन्न सुझाव दिन्छु ।’

नेपालले मुलुक कुनै पनि हालतमा बंश परम्पराबाट शाषित हुने ठाउँमा फर्कन असम्भव रहेको स्पष्ट गरे ।

गणतन्त्रको विकल्प राजतन्त्र नभएको तर्क गर्दै उनले बाबु नभए छोरा, छोरा नभए नाति र नाति पनि नभए पतानीलाई शासक बनाउने व्यवस्था अब नचल्ने बताए ।

‘बाबु भएन भने छोरा, छोरा भएन भने नाति, अब कुनै दिन पनाति जन्माएर त्यसलाई राजा बनाइदिऊँ भन्ने कुरा आउला’, उनले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us