
काठमाण्डू, १५ जेठ– बयोवृद्ध पूर्वपञ्च एवं पूर्वराजा ज्ञानेन्द्रद्वारा गठित ‘राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समिति’ संयोजक नवराज सुवेदीले काँग्रेस, एमाले र माओवादी केन्द्रसहितका राजनीतिक दललाई राजतन्त्रको पक्षमा उभिन अपिल गरेका छन् ।
आफ्नो नेतृत्वमा राजावादी समूहहरुले बिहीबारबाट थाल्ने भनिएको काठमाण्डू केन्द्रित प्रदर्शनको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै सुवेदीले राष्ट्र र राष्ट्रियताको पक्षमा सबै नेपाली एक ठाउँ उभिनु जरुरी भएको बताए ।
सबै विचार र संस्था अट्ने तथा कसैप्रति निषेध र दूरभाव नहुने गरी ‘नवीन समझदारी’ को प्रस्तावना आफूहरुले तयार पारेको उनको भनाइ थियो ।
भावी सन्ततिका लागि कस्तो नेपाल छाडेर जाने भन्ने प्रश्न भएको बताउँदै सुवेदीले दलीय र समूहगत स्वार्थभन्दा माथि उठ्न अपिल गरेका छन् । उनले सबै दललाई सबल र समुन्नत राष्ट्र तथा सार्थक प्रजातन्त्रको पक्षमा उभिन आग्रह गरे ।