
काठमाण्डू, १५ जेठ– प्रधानमन्त्री केपी ओलीसहित सुरक्षा निकायको चेतावनीविपरीत राजावादी समूहले रत्नपार्कमा प्रदर्शन गर्ने भएका छन् ।
राजतन्त्र पुनस्र्थापना र हिन्दू राज्यसहित विभिन्न एजेण्डा अघि सारेर राप्रपा र राप्रपा नेपालसहित विभिन्न धार्मिक समूहहरुको सहभागितामा प्रदर्शन हुन लागेको हो ।
पूर्वपञ्च नवराज सुवेदीले नेतृत्व गर्ने प्रदर्शन निरन्तर जारी रहने राजावादी समूहले बताएका छन् । प्रधानमन्त्री केपी ओलीले चारवटै सुरक्षा निकायका प्रमखलाई बोलाएर बुधबार राजावादी समूहलाई चक्रपथभित्र प्रवेश गर्न नदिन निर्देशन दिएका थिए ।
त्यसअघि उनले पार्टीसम्वद्ध युवा संघलाई १५ जेठमा काठमाण्डू एमालेको कब्जामा हुनुपर्ने भन्दै सोहीअनुसार तयारी गर्न निर्देशन दिएका थिए । ओलीको उक्त अभिव्यक्तिप्रति सत्तारुढ काँग्रेसका कतिपय नेताले समेत आपत्ति जनाएका थिए । एमालेले भृकुटीमण्डपमा गर्ने प्रदर्शन सकिएपछि राप्रपाले रत्नपार्कमा प्रदर्शन गर्ने तयारी छ ।
जिल्ला सुरक्षा समिति काठमाण्डूको बुधबारको बैठकमा एमालेले गर्ने गणतन्त्र उत्सवको कार्यक्रम २ बजेसम्ममा सक्ने र त्यसपछि राजावादीको प्रदर्शन सोही स्थानमा गर्न दिने गरी सम्वद्ध पक्षसँग समझदारी भएको थियो ।
दुई पक्षले एकै स्थानमा एकै समयमा प्रदशर्न गर्ने तयारी गरेपछि सम्भावित तनावलाई मध्यनजर गर्दै काठमाण्डूका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पहिला एमालेको र त्यसपछि राजावादीको कार्यक्रम गर्न सहमत गराएका थिए ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले आफूहरुले रत्नपार्कमा प्रदर्शन गर्ने तयारी गरेको बताए ।
‘शान्तिपूर्ण रुपमा भेला, प्रदर्शन गर्न र राजनीतिक एजेण्डा जनतामा राख्न पाउने संविधान प्रदत्त नैसर्गिक अधिकार कसैले हनन् गर्न सक्दैन’, उनले भने, ‘चक्रपथबाहिर होइन, हामी रत्नपार्कमा प्रदर्शन गर्दैछौं ।’ उनले काठमाण्डू उपत्यका र बाहिरबाट मानिसहरु प्रदर्शनमा आउने क्रम जारी रहेको बताए ।