के हुन्छ धवलशमशेरको सांसद पद ?

काठमाण्डु टुडे २०८१ चैत १५ गते १४:५१ मा प्रकाशित

काठमाण्डू, १६ चैत– राप्रपा सांसद धवलशमशेर राणा पक्राउ परेका छन् । राजावादीको प्रदर्शनको क्रममा भएको हिंसात्मक गतिविधि भड्काउन मतियार रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेसँगै उनी संसदीय गतिविधिबाट बन्चित भएका छन् । उनी पक्राउ परेको सूचना संसद सचिवालय पुगिसकेको छ । नेपालको संविधानको धारा १०३ को उपधारा ३ मा सांसद पक्राउको सूचना सभामुखलाई दिनुपर्ने व्यवस्था छ ।

यसअनुसार प्रहरीले सांसदलाई पक्राउ गरेको सूचना सभामुख र संसद सचिवालयलाई दिएको हो । यस्तो सूचना प्राप्त भएपछि प्रतिनिधिसभा नियमावली अनुसार सभामुखले संसदमा जानकारी दिनुपर्छ ।

संसद् नभएको अवस्थामा सूचना पाटीमा पक्राउ भएको सूचना प्रकाशित गराउनुपर्छ । प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजे बस्दैछ । प्रतिनिधिसभा नियमावली अनुसार पक्राउ पर्दैमा तत्काल राणाको सांसद पल निलम्बन हुने छैन ।

प्रहरीले उनी विरूद्ध तीन वर्षभन्दा बढी सजाय माग दाबी गर्दै अभियोग लगायो र उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठायो भने त्यस्तो अवस्थामा मात्र उनको सांसद पद निलम्बनमा पर्नेछ । यस्तो अवस्थामा राणाले सांसदको रुपमा तलब–भत्ता पाउने छैनन् । उनले सांसदका रूपमा प्राप्त हुने अधिकार पनि प्रयोग गर्न पाउने छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us