
काठमाण्डू, १६ चैत– हिजो (शुक्रबार) काठमाण्डूको तीनकुने क्षेत्रमा भएको हिंस्रक राजावादी प्रदर्शनपछि भागेका विवादास्पद मेडिकल व्यसायी दुर्गा प्रसाईं इमाडोलमा रहेको विवास्पद धर्मगुरु पुष्कर खतिवडाको घरमा बसेको खुलेको छ । विवास्पद धर्मगुरु पुष्कर खतिवडाको घरमा उनी केही समय बसेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
इमाडोलबाट खतिवडालाई प्रहरीले शनिबार बिहान पक्राउ गरेर ल्याएको थियो । त्यसक्रममा उनले प्रसाईं प्रदर्शनपछि आफ्नो घरमा आएको बयान दिएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिएका छन ।
‘प्रारम्भिक सोधपुछमा उहाँले त्यस्तो बताउनु भएको हो, थप बयान लिन पाएको छैन’, अधिकारीले भने, ‘स्याउ र केरा खाएर त्यहाँबाट निस्किएको भनेर भनेका छन् ।’ त्यसपछि उनी घरबाट निस्किएको उनले जानकारी दिएका छन ।
खतिवडा शुक्रबार भएको प्रदर्शनमा भिडलाई उत्तेजित बनाउने कार्यमा संलग्न थिए । उनले प्रहरीलाई ढुंगा हान्दै गरेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल छ । प्रहरीको विशेष टोलीले खतिवडालाई शनिबार बिहान पक्राउ गरेर ललितपुर प्रहरीलाई बुझाएको थियो । ललितपुर प्रहरीले उनलाई काठमाण्डू प्रहरीलाई बुझाउने तयारी गरेको छ ।
‘थप अनुसन्धान जिल्ला प्रहरी परिसर, भद्रकालीबाटै हुन्छ’, अधिकारीले भने । शुक्रबार भएको प्रदर्शनले हिंसात्मक रुप लिँदा २ जनाको मृत्यु र २२ जना घाइते भएका थिए ।
प्रहरीले यो मामलामा आन्दोलनको नेतृत्व गरेका राजावादी नेताहरु रवीन्द्र मिश्र, धवलशमशेर राणा, स्वागत नेपाल लगायतलाई पक्राउ गरेको छ ।
आन्दोलनका घोषित संयोजक ८६ वर्षीय नवराज सुवदीलाई भने स्वास्थ्य कारण देखाउँदै घरमै नियन्त्रणमा लिएर राखेको छ । जनकमाण्डर भनिएका दुर्गा प्रसाईंको खोजी जारी छ । उनीविरुद्ध व्यक्ति हत्या आरोपमा समेत अनुसन्धान गर्ने प्रहरी तयारी छ ।