
काठमाण्डू, १६ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको बताएका छन ।
हिजो (शुक्रबार) काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादी समूहले तोडफोड गरेको नेकपा एकीकृत समाजवादी केन्द्रको कार्यालयमा स्थलगत अनुगमनसँगै समाजवादी मोर्चाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले सरकारलाई कडा कदम चाल्न सुझाव समेत दिएका छन ।
अध्यक्ष प्रचण्डले भने, ‘जे भएको छ प्रष्ट के भएको छ भने यसको पछाडि ज्ञानेन्द्र शाह नै हो । ज्ञानेन्द्र शाहको मानसिकता नै आपराधिक छ भन्ने इतिहासमा पनि देखिएको हो, ‘अहिले पनि देखिएको छ । यही नै समय हो सरकारले कडा कदम चालोस् ।’ प्रचण्डले सरकार र प्रहरीको राम्रो तयारी नदेखिएको टिप्पणी गरे । ‘सरकार र प्रहरीको राम्रो तयारी देखिएन ।
यहाँ आक्रमण भयो भनेर जानकारी गराएपछि पनि झन्डै ४०–४५ मिनेट सुरक्षाकर्मी नदेखिनु बडो विडम्बना भन्नुपर्ने हुन्छ,’ उनले भने । सरकारले आफ्नो भूमिकाको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने प्रचण्डले बताए । ‘राजधानीको मुटुमा यस्तो विवेकहीन र आपराधिक घटना हुँदा सुरक्षा निकाय समयमै उपस्थित हुन नसक्ने अवस्थाको सरकारले गम्भीर रूपमा समीक्षा गरोस् ।
आउने दिनको लागि पूर्ण तयारीमा लागोस् ‘, उनले भने । अपराधीहरू सबैलाई छानबिन गरेर कारबाहीको दायरामा ल्याओस । ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिंदैन । नेपाली जनता त्यसमा तयार छैन ।