
काठमाण्डू, १५ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुले विगतमा विगतमा गरिएका कमजोरीकै कारण इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोजेको दाबी गरेका छन ।
आज (शुक्रबार) काठमाण्डूको भृकुटीमण्डपमा समाजवादी मोर्चाले आयोजना गरेको जनसभामा बोल्दै माओवादी अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । जनआन्दोलन र जनयुद्धको माध्यमबाट सामन्ती राजतन्त्रको ढाड भाँचेको भए पनि संविधान जारी गरेपछि गरिएका केही कमजोरीका कारण अहिले उनीहरूले टाउको उठाउने कोशिश गरेको उनको भनाइ छ ।
प्रचण्डले भने, ‘जनयुद्धको नेतृत्वकर्ता, शान्ति सम्झौता, गणतन्त्र घोषणा र संविधान निर्माणको नेताको हैसियतले देशभरका जनतालाई भन्न चाहन्छु, समस्या विगतमा केही त्रुटी गरेकाले पनि पैदा भएका छन् ।
‘हामी गणतन्त्रवादीहरूले केही कमजोरी गरेकैले दलाल, नोकरशाहीहरूले पनि थुप्रै लाभ लिने अवसर प्राप्त गरे । तर, अब त्यसलाई सच्याइनेछ ।’ उनले समाजवादी मोर्चा र व्यक्तिगत तर्फबाट आत्मआलोचना र्दै अब जनअपेक्षा अनुसार काम गर्ने र इतिहासमा कुडाकर्कट बनिसकेकाहरूले टाउको उठाउन चाहेको आन्दोलनलाई अन्त्य गर्ने जिकिर गरे ।
‘गल्तीबाट शिक्षा लिएर पुनः मजदुर, किसान, उत्पीडित जनता, महिला, मुस्लिम सबैको पक्षमा काम गर्न अर्को क्रान्तिको नेतृत्व गर्न हामी तयार भएका छौं, यो कुरा मञ्चबाट औपचारिकताको लागि मात्र भनिराखेको छैन । एउटा नयाँ आन्दोलन, नयाँ क्रान्तिको नेतृत्वद्वारा अहिले देखिएको समस्या समाधान गर्न चाहन्छौं ।’