
काठमाण्डू, १५ चैत– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले नारायणहिटीबाट शान्तिपूर्ण रुपमा नागार्जुन सरेको हेक्का राख्न आग्रह गरेकी छन । आज (शुक्रबार) समाजवादी मोर्चाको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
उनले भनिन्, ‘२४० वर्षको विरासत २०५८ को हत्याकाण्डले नै अन्त्य भएको थियो । तर, त्यसको केही समयपछि नेपालबाट विधिवत रुपमा राजावादी विदा भएको हो ।’ १० वर्षे माओवादी सशस्त्र युद्ध, ०६२-0६३ को जनआन्दोलन र मधेश आन्दोलनको पृष्ठभूमिमा नेपालबाट राजतन्त्र अन्त्य भएको थियो ।
२८ चैत २०६४ सालमा सम्पन्न संविधान सभाको चुनावबाट निर्वाचित संविधान सभाको पहिलो बैठक (१५ जेठ २०६५) ले नेपालबाट राजतन्त्र अन्त्यको घोषणा गरेको थियो ।
तर, पछिल्लो समय राजतन्त्र पक्षधर पुनः सलबलाउन थालेका छन् । राजतन्त्रको बिदा गर्दै गर्दा पूर्वराजा ज्ञानेन्द्रले मागे अनुसार बस्ने ठाउँ, सुरक्षा र सुविधा दिइएको ख्याल गर्न उनको आग्रह छ ।
‘मलाइ बस्न नागर्जुन चाहियो । मलाई केही गाडी चाहिए । केही सुरक्षा चाहियो भनेर पाएपछि नारायणहिटीबाट शान्तिपूर्ण ढंगले बिदा भएको हो’ भुसालले स्मरण गरिन् ।