
काठमाण्डू, १४ चैत– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबाहादुर देउवाले कसैले रहर गर्दैमा गणतन्त्र नजाने बताएका छन । कांग्रेस सभापति देउवाले जनताको प्रत्यक्ष सहभागितामा संविधानसभामार्फत् गणतन्त्र आएकाले कसैले रहर गर्दैमा नहट्ने पनि बताएका छन ।
आज (बिहिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले भने, ‘हामी सबैले लडेर यो व्यवस्था ल्याएका हौं । जनताको इच्छाअनुसार संविधानसभामार्फत गणतन्त्र आएको हो । कसैले रहर गरेर हुने कुरा छैन,’ उनले भने, ‘गणतन्त्र हट्नेवाला छैन ।
कसैले आशा नगरे हुन्छ ।’ पूर्वप्रधानमन्त्री देउवाले अहिलेको संविधानमा हिमाल, पहाड, तराईका सबै जनता अटाउने, समावेशी, समानुपातिक प्रतिनिधित्व रहेको भन्दै यस्तो व्यवस्था हट्न नसक्ने पनि बताएका छन ।
उनले बीपी कोइरालाले जनतालाई अधिकार सम्पन्न बनाउने अठोट गर्दै आन्दोलन अघि बढाएको बताएका देउवाले सो आन्दोलनमा गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई हुँदै गिरिजाप्रसाद कोइरालालगायत सबै लडेर नेपालमा अहिलेको व्यवस्था ल्याएको बताएका छन ।
उनले भने, ‘बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला लगायतका सबै साथी भाइहरू लडेर हामीले नेपालमा अहिलेको व्यवस्था ल्याएका छौं । लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याएका छौं । कसैले रहर गरेर हुनेकुरा छैन ।’