संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन कांग्रेस प्रतिबद्ध छः देउवा

काठमाण्डु टुडे २०८१ चैत १३ गते १५:५७ मा प्रकाशित

काठमाण्डू, १४ चैत– पूर्व प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउँदै द्वन्द्व पीडितलाई न्याय दिलाउन कांग्रेस प्रतिबद्ध रहेको बताएका छन ।

आज (बिहिबार) संक्रमणकालीन न्यायसँग सम्बन्धित सम्मेलनलाई काठमाण्डूमा सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन । सभापति देउवाले भने, ‘द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनका घटनाको छानबिनमार्फत सत्यतथ्य उजागर गरी न्याय दिलाउन नेपाली कांग्रेस सुरुदेखि नै प्रतिबद्ध छ ।’

पीडितलाई न्याय दिने विषयमा प्रमुख दलहरूबीच कुनै विवाद नभएको पनि उनले बताएका छन । वर्तमान सरकार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न अगाडि बढिरहेको पनि बताएका छन । उनले सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता व्यक्तिको छानबिन आयोगमा छिट्टै पदाधिकारी नियुक्त हुने विश्वास समेत व्यक्त गरेका छन ।

सभापति देउवाले भने, ‘संक्रमणकालीन न्यायका लागि यही सरकारले भर्खरै सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न समिति गठन गरिसकेको छ । सम्भवतः अब छिटै आयोगहरूले पूर्णता पाउने छन्, ‘आयोगहरूले सक्षम र योग्य व्यक्ति सिफारिस गर्ने छ भन्ने विश्वास लिएको छु ।’

सर्वोच्चले गरेको फैसलाको भावनामा रहेर आयोगहरूले आफ्ना कामकारबाही अगाडि बढाउने बताउँदै उनले नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्ने र विश्वका लागि उदाहरणीय बन्ने विश्वास समेत व्यक्त गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us