
काठमाण्डू, १४ चैत– आफ्ना माग पूरा नभएको भन्दै आन्दोलनमा रहेका शिक्षकहरूले यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण नगर्ने भएका छन् ।
नेपाल महासंघले शिक्षकहरूलाई २० चैतदेखि काठमाण्डूमा शैक्षिक सडक आन्दोलनमा सहभागी हुन निर्देशन दिँदै एसईई लगायतका कुनै पनि परीक्षाको उत्तरपुस्तिका परीक्षण नगर्ने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन ।
महासंघका अध्यक्ष सुवेदीले भने, ‘शिक्षकहरूले उत्तरपुस्तिका परीक्षा नगरी शैक्षिक सडक आन्दोलनमा आउनु हुन्छ । राज्यले माग पूरा नगरेकाले यो स्थिति आएको हो, । ७ चैतदेखि सुरु भएको एसईई १९ गते सकिँदै छ ।
अध्यक्ष सुवेदीका अनुसार ४ लाख शिक्षक कर्मचारी छन् । तीमध्ये ७५ प्रतिशत शिक्षक कर्मचारी सडक आन्दोलनका लागि काठमाण्डू आउने बताएका छन । महासंघले २० गतेदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गर्ने सभा, समारोह, तालिम, गोष्ठी लगायतका गतिविधिमा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।
काठमाण्डूमा प्रदर्शन गर्न महासंघले शिक्षक–कर्मचारीबाट आन्दोलन परिचालन शुल्क पनि उठाउने निर्णय गरेको छ । प्रति शिक्षक कर्मचारी शुल्क १०० रुपैयाँ निर्धारण गरेको महासंघले ५० रुपैयाँ केन्द्रमा पठाउन भनेको छ । महासंघले २० गतेदेखि हने अनिश्चितकालीन आन्दोलन अन्तिम र निर्णायक हुने बताएको छ । ‘शिक्षा ऐन जारी गर्न संसद् र सरकारले काम गरेन ।
आन्दोलनबाट फैसला गछौं,’ सुवेदीले भने । आन्दोलनरत शिक्षक महासंघसँग सहजीकरण र वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समिति बनाएको छ । तर उक्त समितिसँँग वार्ताको औचित्य नरहेको महासंघको भनाइ छ । ‘यो कमिटिसँग बसेर समस्या साधान नहुने भएकाले वार्तामा नबस्ने निर्णय गरेका छौं,’ अध्यक्ष सुवेदीले भने ।
दोस्रो चरणको आन्दोलन अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा शिक्षकहरू रिले अनशमा पनि बसिरहेका छन् । १५ जना शिक्षकको समूह रिले अनशमा बसेको हो । अहिले परीक्षा चलिरहेकाले १५ जनाको संख्यामा मात्र रिले अनशनमा बसेको अध्यक्ष सुवेदीले जानकारी दिएका छन ।