पूर्वप्रधानमन्त्री भट्टराईलाई राजावादीले देखाए कालोझण्डा

काठमाण्डु टुडे २०८१ चैत १३ गते १५:०० मा प्रकाशित

काठमाण्डू, १४ चैत– पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई दाङमा राजावादीहरुले कालो झण्डा देखाएका छन ।

भट्टराई बसेको होटल नजिक पुगेर राजावादी समर्थकहरुले कालोझण्डा देखाउँदै प्रदर्शन गरेका हुन । राजावादी युवा समर्थक सन्देश भण्डारी क्षेत्री नेतृत्वको टोलीले कालो झण्डा देखाउँदै प्रदर्शन गरेको खुलेको छ ।

उनीहरुले ‘संघीयता खारेज गर, धर्मनिरपेक्ष खारेज गर’ लगायतका नारा लगाएका थिए । उनीहरुले पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध पनि नारा लगाएका थिए । प्रदर्शनमा उत्रिएका व्यक्तिहरुले बोकेको कालोझण्डा प्रहरीले खोसेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले कालोझण्डा देखाइएको बारेमा अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us