शान्ति प्रक्रिया सफल पारौं, मबाहेक अरु सबैलाई श्रेय दिन्छुः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ चैत १३ गते १३:०९ मा प्रकाशित

काठमाण्डू, १४ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएको श्रेय पाउने आश त्यागेर सफल पार्नेतर्फ मात्र केन्द्रित हुन सबैलाई आग्रह गरेका छन ।

प्रधानमन्त्री ओलीले आफूलाई श्रेयको भोक नभएको भन्दै पीडितको घाउमा मल्हम लगाउनु मुख्य काम भएको बताए । आज (बिहिबार) संक्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई काठमाण्डूमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले भने, ‘हामीले आफ्नै एउटा शान्ति प्रक्रिया आफैंले सुरु गरेका छौं । हामी आफैंले अगाडि बढाएका छौं ।

कसले श्रेय लिने हो भन्ने कुरा छोडिदिउँ ।’ उनले अगाडि भने, ‘म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय मबाहेक अरु सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । श्रेय चाहिएन । सफल पारौं यसलाई ।’ उनले नेपालमा अब शान्ति हुनेछ भन्ने ग्यारेन्टी गर्न पनि आह्वान गरे ।

‘पीडितका घाउमा मलम लगाउन उहाँहरुका आँसु पुछौं र नेपाली जनतालाई निश्चिन्त बनाऔं, अब नेपालमा शान्ति हुनेछ,’ उनले भने । प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन बनाएको भन्दै अब काम अगाडि बढ्ने पनि बताएका छन ।

विगतमा बेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाए पनि असफल भएको भन्दै उनले त्यसमा दुःख व्यक्त गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us