काठमाण्डू उपत्यका विकास प्रधिकरणको कार्यलयमा कर्मचारीले लगाए ताला

काठमाण्डु टुडे २०८१ चैत १२ गते १८:१६ मा प्रकाशित

काठमाण्डू, १३ चैत– काठमाण्डू उपत्यका विकास प्रधिकरणको कार्यलयमा ताला लागेको छ । काठमाण्डू उपत्यका विकास प्रधिकरणका प्रमुख एवं विकास आयुक्त जानुका ढकाल र नायब आयुक्त नवराज प्याकुरेलको कार्यकक्षमा ताला लागेको हो ।

आज (बुधबार) दिउँसो उपत्यका विकास प्रधिकरणका कर्मचारीले प्रमुख ढकालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । कर्मचारीहरूले विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी गरेका हुन् ।

कर्मचारीले संस्थामा कर्मचारी हुँदाहुँदै गैरकानुनी रुपमा करार र ज्यालादारी भर्ना गरिएको, निजामती कर्मचारीबाट कार्यालय सञ्चालन गरिँदै आएको लगायतका विषयमा असन्तुष्टि राख्दै उनीहरूले तालाबन्दी गरेका हुन् ।

उक्त कार्यहरू बन्द गरिनुपर्ने भन्दै कर्मचारीहरूले ज्ञापन पत्र ढोकामा टाँसेका छन् । यसअघि भएका सहमतिहरू पालना गर्न कर्मचारीहरूले ध्यानाकर्षण पनि गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us