कुलमानले सरकारलाई टेरेनन् त्यसैले हटाइँदिएः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ चैत १२ गते १७:२३ मा प्रकाशित

काठमाण्डू, १३ चैत– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरूको माग बमोजिम संसदमा गएर जवाफ नदिने घोषणा गरेका छन । कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनुको कारणबारे विपक्षीले जवाफ मागेको सन्दर्भमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

आज (बुधबार) एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्‍यो, सक्कियो । त्यही हो जवाफ ।’

ओलीले अगाडि थपे, ‘उहाँहरुलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम हो्इन ।’ प्रधानमन्त्री ओलीले अनेक प्रकारका शक्तिहरूले उपद्रो गरिरहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाति पिटिपिटी रुँदैमा प्रधानमन्त्रीले जवाफ दिइरहनुनपर्ने बताएका छन ।

प्रधानमन्त्री ओलीले विपक्षी दलहरूले चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नबाट रोक्न सदन अवरोध सुरु गरेको आरोप लगाएका छन । प्रधानमन्त्री ओलीले भने, ‘सबैलाई थाहा छ १८ गतेभित्र अध्यादेशहरूलाई विस्थापन गर्ने प्रतिस्थापन विधेयक पारित भएनन् भने कानुन बन्दैन, कानुनको रूपमा रहँदैन ।

त्यो अर्को विधेयकका रूपमा जानुपर्छ’ उनले भने, ‘त्यो बुझेर कानुन बनाउन नदिन विधेयक पास हुन नदिनका निम्ति यो सबै खेल भइरहेको छ । हामीले बुझेका छौं ।’विपक्षीलाई प्रधानमन्त्रीले भने, ‘ उत्ताउलो नहुनुस्, चिसै पानीले नुहाउनुपर्छ, प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईंहरू ।

प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । थाहा छ तपाईंहरुको पृष्ठभूमि । के गर्न कता हिंडनुभएको थियो कहाँ आइपुग्नुभयो ।’ प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई नटेरेको बताए । ‘को को कर्मचारी भन्नुहुन्छ उहाँहरूले, के के भनिदिनुहुन्छ त्यसरी चलिदिने ।

त्यही कर्मचारी राखिदिनुपर्ने, सरकारलाई असहयोग गर्ने, नटर्ने । देशलाई अप्ठ्यारोमा पार्ने,’ उनले भने । घिसिङलाई अनुशासनहीन र अराजकको संज्ञा दिँदै उनले थपे, ‘अनुशासनहीन, अराजकता, राष्ट्रिय घाटा सबै सहनुपर्ने ? उहाँहरू के के न इस्यु पायौं भनेर बोकेर हिंड्ने । यो हामीले बुझेका छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us