काठमाण्डू, १३ चैत– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट कुलमान घिसिङलाई सरकारले हटाएको विरोधमा आज (बुधबार) पनि पनि काठमाण्डूमा प्रदर्शन भएको छ ।
महिला र पुरुषहरुको समूह नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय अगाडि भेला भएर विरोध प्रर्दशन गरेका हुन । सरकारले घिसिङको काम सन्तोषजनक नभएको ठहर गर्दै चैत ११ गते पदबाट हटाउने निर्णय गरेको थियो ।
घिसिङलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिएको छ । कुलमानलाई हटाउनु गलत भएको भन्दै सदन र सडकबाट सरकारको विरोध भइरहेको छ ।
आज प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् । आज दिउँसो सरकारविरुद्ध नारा लगाउँदै एक टोली विद्युत् प्राधिकरणको कार्यालय अगाडि पुगेको थियो । सो टोलीका केही सदस्यहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।