आगलागी भएको सेन्टर प्लाजाबाट १६ जनाको उद्धार

काठमाण्डु टुडे २०८१ चैत १२ गते १३:३० मा प्रकाशित

काठमाण्डू, १३ चैत– सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरीकएको छ । उद्धार हुनेहरुमा ११ पुरुष र ५ महिला रहेको प्रहरीले जानकारी दिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित सेन्टर प्लाजामा बिहान साढे ९ बजेदेखि भएको आगलागीमा उनीहरु फसेका थिए ।

आगो नियन्त्रणका लागि अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाका साथै स्थानीय समेत खटिएका छन् । सशस्त्र प्रहरीको नं– १ बराह बाहिनीबाट एसएसपी मनिष थापाको कमाण्डमा खटिएको १०५ जनाको टोलीका साथै नेपाली सेना र नेपाल प्रहरीका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उक्त प्लाजामा केही व्यक्ति रहेको आशंकामा उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर समेत पठाइएको छ । गृहमन्त्री रमेश लेखकको सचिवालयले हेलिकप्टर पठाइएको बताएको छ । हेलिकप्टरबाट समेत उद्धार सुरु गरिएको छ । अझै प्लाजाभित्र ३ जना फसेको देखिएको उद्धारकर्ताहरुको दाबी छ । उनीहरु उद्धारको पर्खाइमा रहेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us