
काठमाण्डू, १२ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा व्यक्तिलाई संस्था मानेर अबको युग नचल्ने दाबी गरेका छन । आज मंगलबार नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाको पुस्तक ‘म र सानोबुवा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलील भने, ‘यो देशलाई बचाउनुपर्छ, विकास गर्नुपर्छ, यहाँ सुशासन हुनुपर्छ, यहाँ डेमोक्रेसी हुनुपर्छ। एउटा व्यक्तिलाई संस्था मानेर, एउटा व्यक्तिका खान्दानलाई संस्था मानेर हिँड्ने पछौटे र सामन्त चिन्तनमा अबको युग जानै सक्दैन। यस्ता कुरामा कोही भ्रममा नपर्दा हुन्छ भन्ने लाग्छ मलाई ।’
उनले देश बनाउन खोज्ने सबैलाई सम्मान गर्ने समेत बताएका छन । ओलीले भने, ‘मैले आइडोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्छु, देश बनाउने खोज्नुपर्यो, बिगार्नचाहिँ पाइँदैन। आइडोलोजी आ–आफ्नो हुनसक्छ। तर, देशचाहिँ साझा हो ।’