
काठमाण्डू, १२ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बन्न नदिन लागिपरेको दाबी गरेका छन । आज (मंगलबार) प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आरोप लगाएका हुन ।
प्रधानमन्त्री ओलीले सरकार सुखी नेपाली समृद्ध नेपाल अभियान सफल बनाउन लागिपरेको तर विरोधीहरू यसलाई सफल बनाउन नदिन लागिरहेको बताएका हुन । प्रधानमन्त्री ओलीले भने, ‘विरोधीहरू लाग्छन् यद्यपि वैधानिक, संवैधानिक प्रतिपक्षको भूमिका वैज्ञानिक र यथार्थपरक हुनुपर्ने हो । तर त्यस्तो भइरहेको छैन, त्यस्तो भइरहेको देखिंदैन, कसरी सरकार वा आफू बाहेक अरुलाई बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न सकिन्छ, झूटलाई फैल्याउन सकिन्छ, यस्ता कुराहरूमा उहाँहरू बहुतै सक्रिय देखिनुहुन्छ ।’
ओलीले विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरे पनि सरकार त्यसका लागि तयार नभएको पनि बताएका छन । उनले भने, ‘देश विकास लागि सरकारले लिएका नीति र कार्यक्रमहरू कसरी छिटो कार्यान्वयन गर्ने भन्नेमा हाम्रो ध्यान रहेको छ ।’ उनले भने, ‘०४६ सालको परिवर्तनपछि देश तीव्र विकासको क्रममा रहेको उनले बताए ।
‘पछिल्लो समय सबै साथीहरूले यो कुरा अनुभव गरिरहेको कुरा हो भन्ने म ठान्छु ।’ उनले आफ्नो कार्यकालमा बनेजति पुल र सडकहरू न इतिहासमा बनेको थियो, न भविष्यमा नै बन्ने पनि बताएका छन । उनले भने, ‘केही पनि भएन, केही पनि भएन भनेर हल्ला गरेको गर्यौ ‘यसमा देशीविदेशी सबै तत्वहरू सक्रिय भए ।’