त्रिशूलीमा खस्यो ट्रक, चालकको मृत्यु, सहचालक घाइते

काठमाण्डु टुडे २०८१ चैत ११ गते १०:१६ मा प्रकाशित

काठमाण्डू, १२ चैत– नारायणगढ–मुग्लिन सडकखण्डको चौधकिलो भन्ने स्थानबाट कोइला बोकेको ट्रक त्रिशूलीमा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा परी सहचालक घाइते भएका छन ।

दुर्घटनामा परी ट्रक चालक रौतहट घर भएका अन्दाजी ३०र३५ वर्षीय रामनारायण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।

आज बिहान करिब साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक आफैं अनियन्त्रित भई त्रिशूलीमा खसेको थियो । दुर्घटनामा यादवको मृत्यु भएको र सहचालक रौतहटकै १९ वर्षीय असुन्द्र कुमार यादव घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

ट्रक दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जुगेडीबाट प्रहरी नायब निरीक्षक ठाकुर प्रसाद पनेरु नेतृत्वको टोली खटिएको थियो । टोलीले चालक र सहचालकलाई उद्धार गरी सरकारी अस्पताल भरतपुर पठाएको थियो ।

चिकित्सकहरुले सहचालकलाई थप उपचारका लागि ७ः५० बजे नयाँ मेडिकल कलेज भरतपुरमा रिफर गरेका थिए भने चालकलाई ८ः२० बजे मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार दुर्घटनाका कारण ट्रक पूर्णरुपमा क्षतिग्रस्त भएको छ । ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको देखिन्छ । त्यसलाई निकाल्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us