पीएन क्याम्पसमा अनेरास्ववियुको दबदबा कायमै, पोखरेल प्यानलै विजयी

काठमाण्डु टुडे २०८१ चैत ११ गते ९:३० मा प्रकाशित

काठमाण्डू, १२ चैत– पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा विरासत कायमै राख्दै अनेरास्ववियुका विष्णु पोखरेलको प्यानलै निर्वाचित भएको छ । अनेरास्ववियुको विरासत भत्काउने भन्दै कांग्रेस निकट नेपाल विद्यार्थी संघ, समाजवादी मोर्चा र स्वतन्त्ररुपमासमेत उम्मेदवारी परेको थियो ।

तर, ती सबै सम्भावना र आंकलनलाई परास्त गर्दै पोखरेल नेतृत्वमा अनेरास्ववियुले प्यानलै जितेर विरासतलाई कायमै राखेको हो । पोखरेल भारी मतान्तरले विजयी हुँदा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ प्रतिस्पर्धाको निकटसम्म पुग्न सकेन भने स्वतन्त्र उम्मेदवारी दिएकी विप्लवी न्यौपाने पनि पोखरेलाई नजिकै पुगेर पछ्याउन सकिनन् ।

समाजवादी मोर्चा, माओवादी निकटको अनेरास्ववियु क्रान्तिकारी त पृथ्वीनारायण क्याम्पसमा धेरै पछाडि पर्‍यो । अनेरास्ववियुबाट अध्यक्षका उम्मेदवार पोखरेल दोब्बरभन्दा धेरै मतान्तरले विजयी भएका हुन् । पोखरेलले एक हजार १०५ मत ल्याउँदा नेविसंघका सुशील न्यौपानेले जम्मा ५०३ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाकोसमेत समर्थन लिएर स्वतन्त्र चुनाव लडेकी विप्लवीले ४६९ मत ल्याइन् । माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीका नवीन अधिकारीले जम्मा २२३ मत ल्याए ।

अनेरास्ववियु समाजवादी, अखिल समाजवादी, अखिल क्रान्तिकारी (मोहन वैद्य)को संयुक्त प्यानलका सन्तोष पौडेलले मात्र १९६ मत ल्याए । पोखरेल नेतृत्वमा सचिवमा विराज दुवाडी अझै लोकप्रिय मतका साथ विजयी भएका छन् ।

उनले १ हजार ४१३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पधी नेविसंघका विवेक भट्टराईले जम्मा ६२८ मत ल्याए । कोषाध्यक्षमा अनेरास्ववियुकै सन्दिका गुरुङ १ हजार ३०४ मतका साथ विजयी भइन् ।

९ हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत गर्ने भनिएको पीएन क्याम्पसमा विद्यार्थी परिचय पत्र भने ७ हजार ४ सय जनाले लगेका थिए । त्यसमा जम्मा २ हजार ८९७ मत खसेको थियो । परिचय पत्र लैजाने विद्यार्थीको संख्यामध्ये जम्मा ३९.१२ प्रतिशत मात्र मतदानमा सहभागी भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us