इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने प्रयासलाई जनताले सहजै विफल पार्छन्ः एमाले

काठमाण्डु टुडे २०८१ चैत १० गते १३:४५ मा प्रकाशित

काठमाण्डू, ११ चैत– सत्ता घटक दल एमालेले पार्टी सचिवालय बैठकका विषयमा केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आज (सोमबार) एमाले महासचिव शङ्कर पोखरेलले एक विज्ञप्ति जारी गर्दै पूर्व राजावादीहरुको केही दिनअघिको प्रदर्शनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका भनेर प्रकाशित समाचार निराधार र अतिरञ्जित भएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको एमालेले जनाएको छ ।

एमाले महासचिव पोखरेलले ती समाचारले अनावश्यक रूपमा सनसनी फैलाउने एवम् नेपाल र भारतबिचको युगौँ पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेका समेत बताएका छन । उनले भनेका छन्, ‘नेपालको संविधान र हामीले अवलम्बन गरेको लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयनको विषय हो ।

संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनता लोकतन्त्रका ठाउँमा निरङ्कुशतन्त्र प्रश्रय दिन सहमत हुन सक्दैनन् भन्ने कुरामा हामी स्पष्ट छौँ ।

इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै विफल पार्छन् भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us