
काठमाण्डू, ११ चैत– दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित सांग्रिला प्लाई उद्योगमा आगजनी भएको छ । आज (सोमबार) बिहान करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जिल्लाका सबै ठाउँबाट दमकल र टयांकर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिएका छन । बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको उनले जानकारी दिएका छन ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउन खटिएका छन् । आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले जानकारी दिएका छन । आगलागीको कारण भने खुल्न सकेको छैन ।