भक्तपुर घटनाः पूजाको भेटी टिप्ने विवादमा हत्या भएको आशंका

काठमाण्डु टुडे २०८१ चैत ९ गते १६:१६ मा प्रकाशित

काठमाण्डू, १० चैत– आज आइतबार बिहानै ०५ः ५५ बजेतिर भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ बोडे निलबाराहीस्थित पिकनिक स्थलनजिक पार्किङ स्थलमा एक व्यक्ति मृत अवस्थामा फेला पर्छन ।

व्यक्ति मृत भेटिएको जानकारी पाउनासाथ जिल्ला प्रहरी परिसर भक्तपुर र भक्तपुरमै रहेको काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली घटनास्थल पुग्यो ।

प्रहरी घटनास्थल पुग्दा रगतले लतपतिएको अवस्थामा भुइँमा एक पुरुषको शव फेला पर्याे । दाहिने कानको लोती चुडिएको, टाउकोमा ठूलो चोट र सँगै रगत लतपतिएको ढुंगा फेला परेको थियो । ‘घटनास्थलको प्रकृति हेर्दा प्रारम्भिक रुपमै हत्या जस्तो देखिन्छ, हत्याकै आशंकामा अनुसन्धान गरिरहेका छौं’ जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी माधव बुढाथोकीले जानकारी दिएका छन । शवसँगै बोरा पनि थियो । बोरामा विभिन्न कवाडीका सामानहरु पनि थिए ।

बोरा नजिकै क्याप, झोला पनि थियो । कवाडीका सरसामान भएको बोरा भेटिएपछि प्रहरी मृत कवाडीको सामान संकलन गर्ने व्यक्ति रहेको आशंका गरेर अनुसन्धान गर्‍यो । मृतकका छोरा समेत सम्पर्कमा आएर शव सनाखत गरिसकेको प्रहरीले जानकारी दिएको छ । ‘मृतकका एक छोरा काठमाण्डूमै पठाओ चलाउने रहेछन् ।

आएर शव सनाखत गरेका छन् । अहिले पोस्टमार्टमका लागि शव पठाएका छौं’ एसपी बुढाथोकीले भने । छोरा सम्पर्कमा आएर सनाखत गरेपछि मृतक व्यक्ति खोटाङको केपिलासगढी गाउँपालिका–२ घर भएका ६० वर्षीय ओम प्रकाश राई रहेको खुलेको छ । उनको शव भक्तपुर दुवाकोटस्थित केएमसी अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको उनले जानकारी दिएका छन । राईले कवाडीको सामान संकलन गर्ने गरेको खुलेको छ ।

उनका तीन छोरामध्ये एक छोरा विदेश ग्रिसमा रहेको प्रहरीले जानकारी दिएको छ । राईको हत्या गएराति भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीका अनुसार राईसँगै दुई जना अन्य व्यक्ति पनि कवाडीको सामान संकलन गर्दै आएका थिए ।

उनीहरुलाई केन्द्रमा राखेर प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार शनिबार मात्रै राईको शव भेटिएको ठाउँ नजिकै लामाहरुले पूजापाठ गरेका थिए । पूजापाठको भेटी टिप्न उनीहरु शनिबार साँझ उक्त ठाउँमा पुगेको हुनसक्ने प्रहरीको आशंका छ । भेटी टिप्ने क्रममै विवाद भएपछि हत्या भएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us