
काठमाण्डू, १० चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले सयम परिवर्तन हुँदै विकासको गतिमा देश अगाडि बढेको दाबी गरेका छन । आज (आइतबार) एमाले निकट राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको ‘टुगेदर फर टुमरोः युथ एण्ड द प्राइमिनिस्टर’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
प्रधानमन्त्री ओलीले भने, ‘समस्याहरू छन्, तिनको कारण छ र समाधान पनि छ भन्दै त्यसतर्फ सरकारले काम अगाडि बढाएको छ ।’ साथै, उनले आफूले नै डिजिटल नेपालको नारा दिएको र त्यसले प्रविधिको क्षेत्रमा ठूलो परिवर्तन ल्याएको जिकिर गरे । उनले भने, ‘हामीले थुप्रै मेडिकल कलेजहरू बनायौं, प्रत्येक पालिकामा आधारभूत तहका अस्पताल बनाउने भनेर अगाडि बढायौं ।
कतिपय बनिसकेका छन् भने कति तयार हुने क्रममा छन्, ‘त्यसले नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो परिवर्तन ल्याउने छ । सरकार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अगाडि बढेको छ ।’ प्रधानमन्त्री ओलीले अहिलेको समय उपलब्धिको समय रहेको भन्दै उनले भावनात्मक रुपमा मात्रै चल्न नहुने पनि बताएका छन ।
उनले भने, ‘हाम्रा छोरीहरुले विशेषज्ञ चिकित्सको सपना देख्नुुभएको छ, त्यो बन्ने प्रतिक्षामा हुनुहुन्छ, कतिले अहिले विशेषज्ञ भएर सेवा गरिरहनु भएको छ, यो अहिलेको समयको उपलब्धि हो, ‘हामी भावनात्मक ढंगले चल्नु हुँदैन, अहिले जति पनि समस्याहरू छन्, ती विकासको गतिसँगै आएका हुन् त्यसलाई व्यवस्थित गरी हामी अगाडि बढ्नुपर्छ ।’