
काठमाण्डू, १० चैत– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न पनि उपयुक्त पात्र नरहेको दाबी गरेका छन ।
आज (आइतबार) नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन । सभापित देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिएका छन् । उनले भने, ‘संवैधानिक राजा हुन लायक पनि छैनन् । संवैधानिक राजा हुन पनि सक्दैनन् ।
राप्रपा पनि पछि पछुताउँछ । राप्रपाले बरु पार्टी सभापति बनाए हुन्छ । पार्टीमा लाग्यो भने राप्रपाले पनि दुःख पाउँछ । उनले पूर्वराजा शाहलाई राजनीतिमा आउन लागेको भए पार्टी खोलेर आउन आह्वान गरे । तर, उक्त पार्टीका मान्छेहरूले दुःख पाउने देउवाले बताए । उनले भने, ‘राजनीति गर्नु छ भने पार्टी खोलेर गरे हुन्छ, त्यो पार्टीका पनि दुःख पाउँछन् विचराहरूले ।
राप्रपाले पनि दुख पाउँछ,’ देउवाले भने । देउवाले राजाका विरुद्धमा बोल्दा आफैंलाई जेल समेत हालिदिएको टिप्पणी गरे । त्यतिबेला अदालतका कारण आफू जेलबाट छुटेको देउवाको भनाइ थियो ।
‘मैले यीनै कुरा गर्दागर्दै मलाई नै लगेर जेलमा हालिदियो । एउटा सक्षम अदालत छ, त्यो अदालतका कारणले म छुटेको हो । कुनै पनि हालतमा संवैधानिक राजा बन्ने छाँटकाँट छैन । बन्नेवाला पनि छैनन्,’ देउवाले भने । देउवाले पार्टीका नेता, कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह पनि गरेका छन् ।