
काठमाण्डू, १० चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्तामा पुगेकाहरूको विकृत र अवसरवादी प्रवृत्तिका कारण लोकतान्त्रिक गणतन्त्र बदनाम भइरहेको बताएका छन । शनिबार काठमाण्डूमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ०६२/०६३ को जनआन्दोलनले आम नागरिकको जीवनस्तर उकास्ने, देशमै उद्योगधन्दा स्थापना गरी रोजगारी सिर्जना गर्ने उद्देश्य राखेको पनि बताएका छन ।
तर सत्तामा पुगेकाहरूले जनताको आशा र भरोसा कुल्चिएको उनले बताएका छन । नेता खनालले भने, ‘क्रान्तिमार्फत जनताले जुन सपना देखेका थिए, त्यसलाई सत्तामा पुगेकाहरूले कहिल्यै पनि वास्ता गरेनन् । अहिले त्यसको परिणाम देशले भोगिरहेको छ ।’ उनले अहिलेका नेताहरु दलाल पुँजीपति वर्गका दलालीमा रमाइरहेको टिप्पणी गरे ।
‘कम्युनिस्ट पार्टीको नाम राखे पनि दलाल पुँजीपति वर्गका दलाली गर्ने बाहेक अरू केही छैनन्। कमिसनको खेलमा नेताहरू बिक्री भइरहेका छन्, रातारात किनबेच भइरहेका छन्,’ खनालले कटाक्ष गरे । दलाल प्रवृत्तिका कारण देशमा विकृति र विसंगति मौलाउँदै बताउँदै उनले गणतन्त्र र लोकतन्त्रलाई बदनाम बनाउँदै लगिएको जिकिर गरे ।
उनले थपे, ‘हामीले गणतन्त्र ल्याएको दलाल पुँजीपति वर्गको सेवा र निर्देशनमा चल्न होइन, श्रमिक, किसान र आम जनताको हितमा काम गर्न हो।’ क्रान्तिको मूल उद्देश्य देशको कृषि क्षेत्रलाई आधुनिकीकरण गर्ने, भूमि सुधार ल्याउने, राष्ट्रिय कच्चापदार्थमा आधारित उद्योग स्थापना गर्ने र राष्ट्रियतालाई सुदृढ बनाउने रहेको खनालले स्मरण गराए ।
तर अहिले त्यो सपना अधुरै रहेको उनको गुनासो समेत गरेका छन ।उनले सत्तामा पुगेकाहरूको नीतिहीनता र अकर्मण्यताकै कारण प्रतिगामी शक्तिहरू पुनः सक्रिय बन्ने अवसर पाएको पनि बताएका छन ।
नेता खनालले भने, ‘अब ढिलो नगरी प्रतिगमनकारी प्रवृत्तिलाई परास्त गरेर देशलाई आमूल परिवर्तनको दिशामा लैजान पहलकदमी थाल्नुपर्छ ।’