ससुराली हिँडेका शिवशंकरको विभत्स हत्या, शव जंगलमा भेटियो

काठमाण्डु टुडे २०८१ चैत ९ गते ११:२४ मा प्रकाशित

काठमाण्डू, १० चैत– घनुषामा ससुराली हिँडेका एक युवकको अपहरण पछि विभत्स हत्या भएको खुलेको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुर बस्ने रामदुलारका छोरा २५ वर्षीय शिवशंकर महतोको हत्या भएको हो ।

उनको शव गौशाला नगरपालिका ८ सागरनाथ वनमा रेल्वे ट्रयाकको करिब एक सय मिटर दक्षिणतर्फ फेला परेको जिल्ला प्रहरी कार्यलय महोत्तरी जानकारी दिएको छ । शव शुक्रबार साँझ साढे ५ बजे फेला परे पनि उनको सनाखत भने शनिबार मात्र भएको थियो । प्रहरीले हत्या भएको प्रारम्भिक अनुमान गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

महोत्तरी प्रहरी प्रवक्ता एवम् डिएसपी सन्तुलाल जयसवारले भने, ‘शव र घटनास्थलको प्रकृति हेर्दा हत्या भएको हाम्रो प्रारम्भिक अनुमान छ । थप कुराहरु अनुसन्धानबाट खुल्छ’ डिएसपी जयसवारले भने ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार शिवशंकरको शव नग्न अवस्थामा, खुकुरीले शरीरको विभिन्न भागमा आक्रमण गरेको र मुखमा आगो लगाएको जस्तो देखिन्छ । शिवशंकर बिहीबार दिउँसो श्रीमती सृजना, १० महिने छोरासहित घरबाट ससुराली बर्दिबास नगरपालिका ५ पशुपतिनगर बन्द्रका लागि निस्केका थिए ।

मृतकका भाइ राम महतोका अनुसार घरबाट एउटा मोटरसाइकलमा दाइ शिवशंकर, भाउजू र १० महिने छोरासहित महेन्द्रनगरसम्म पुगेका थिए । त्यहाँबाट श्रीमती सृजनाले माइतबाट दुईवटा मोटरसाइकल बोलाएकी थिइन् । एउटामा १० महिने छोरासहित सृजना चढेकी थिइन् भने अर्कोमा शिवशंकर । शिवशंकरको घरमा सबैले ससुराली पुगे भनेर ढुक्क थिए ।

तर, शुक्रबार जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट मान्छे पहिचानका लागि शिवशंकरको घरबाट मान्छे बेलाउँदा त्यहाँ पुगेपछि मात्र छोरा ससुराली नपुग्दै हत्या भइसकेको परिवारले थाहा पाएका थिए । उनले भने, ‘हिजो दिउँसो २ बजेतिर मात्र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट फोन गरेर आउन भन्यो । पुगेपछि दाइको शव देखायो ।

त्यसपछि मात्र थाहा पायौं ससुराली नपुग्दै दाइको हत्या भइसकेको रहेछ ।’ केही दिन अघि ससुरालीमा विवाद हुँदा शिवशंकरमाथि कुटपिट भएको थियो । विवादपछि श्रीमती र बच्चासहित घर फर्किंदा शिवशंकर पुनः ससुराली जान मानेका थिएनन् । उनलाई श्रीमती सृजनाले नाना (हजुरबुबा)को मृत्यु भयो भनेर ससुराली जान बाध्य बनाएकी भाइ रामको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us