इतिहास बनेकाहरू टाउको उठाउने प्रयासमा छन्, त्यो सम्भव छैनः प्रचण्ड

काठमाण्डु टुडे २०८१ चैत ८ गते १५:४२ मा प्रकाशित

काठमाण्डू, ९ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इतिहास बनिसकेकाहरूले पुनः टाउको उठाउने कोसिस गरिरहेको भन्दै त्यो सम्भव नहुने दाबी गरेका छन ।

आज (शनिबार) चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान जिल्ला समन्वय समितिद्वारा आयोजित जागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

उनले अहिलेको सरकारमा रहेका दलहरूको कामकै कारण इतिहास बनिसकेकाहरूले टाउको उठाउने प्रयास गरीरहेको बताएका छन । प्रचण्डले भने, ‘यो सरकारका कारणले इतिहासका कुडाकर्कटमा गइसकेकाहरू पनि टाउको उठाउने दुस्साहस गरिरहेका छन् । यद्यपि त्यो टाउको धेरै उठ्नेवाला छैन ।’उनले आगामी चैत १५ गतेसम्म पुग्दा नपुग्दै त्यो सकिने दाबी गरे ।

‘आउने १५ गतेसम्म पुग्दा नपुग्दै त्यो त सकिनै हाल्छ,’ प्रचण्डले भनेका छन् । समाजवादी मोर्चामा सहभागी दलहरूले आगामी १५ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ । अध्यक्ष प्रचण्डले पछिल्लो पटक आफूहरू जनतासँगको अभियानमा लाग्दा छुट्टै खुसी मिलेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us