
काठमाण्डू, ९ चैत– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्ति का अध्यक्ष डा. बाबुराम भट्टराईले राणा र राजाहरूको पालामा अहिले भन्दा तीन गुणा बढी भ्रष्टाचार भए पनि बन्द व्यवस्थाका कारण उनीहरूका गलत काम जनतासम्म पुग्न नदिने गरेको बताएका छन ।
आज (शनिबार) जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री डा. भट्टराईले यस्तो बताएका हुन । उनले भने, ‘आजभन्दा तीन गुणा बढी भ्रष्टाचार राजा र राणाहरूको पालामा हुन्थ्यो। तर उनीहरू त्यति कुटिल थिए कि तिनका गलत कामहरू जनतासम्म पुग्नै दिँदैनथे।’
त्यतिबेला आफ्ना गलत अभ्यास लुकाउन नागरिकलाई शिक्षाको अवसरबाट समेत बञ्चित गर्ने गरिएको उनले बताए । ‘जनतालाई शिक्षित नै गराइएन। अहिले जनता पढ्न–लेख्न पाएका छन् ।
केही क्षेत्रमा अझै शिक्षा आवश्यक छ, तर त्यस समयमा त आधारभूत शिक्षा पनि सीमित व्यक्तिहरूसम्म मात्र सीमित थियो’ उनले भने, ‘राजाहरूले आफ्नै सत्ता सुरक्षित राख्नका लागि खोलिएका केही विद्यालयहरूमा मात्र शिक्षाको पहुँच थियो।’ राजतन्त्रलाई भूतको संज्ञा दिंदै भट्टराईले भ्रम बोकेर हिंड्न नहुने बताए ।
उनले भने, ‘राजतन्त्र भूत हो— भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिंड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग न सम्बन्ध छ, न सम्भावना ।’
लोकतन्त्रको रक्षा सबै मिलेर गर्नुपर्ने र पछाडि फर्कन नहुनेमा पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले जानकारी दिए । ‘हामी पछाडि फर्किने कुरा हुँदैन्। मधेशजस्तो क्षेत्र, जहाँ विभिन्न समुदायहरू वर्षौंदेखि उत्पीडनमा परेका थिए, अब जागिसकेका छन्, र तिनलाई छलकपट गर्न अब कठिन छ,’ उनले भने ।