
काठमाण्डू, ९ चैत– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले युवा पुस्ताको आवाज सुन्न सक्ने नेतृत्व अहिलेको आवश्यकता भएको दाबी गरेका छन । नेकपा (माओवादी केन्द्र) फक्ताङलुङ गाउँपालिका कमिटीको अधिवेशनमा सम्बोधन गर्न जानुअघि प्रेस सेन्टरले ताप्लेजुङको फुङलिङमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव शर्मा यस्तो बताएका हुन ।
नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक कुलमान घिसिङको प्रशंग उठाउँदै उनले सरकारले कसको पालामा नियुक्ति भएको भन्ने आधारमा व्यवहार गरेको दाबी गरे। यो लोकतान्त्रिक संस्कार नभएको पनि बताए ।
उनले सरकारको घिसिङप्रतिको व्यवहार ठीक नभएको पनि बताएका छन । नेपालको जलविद्युत् क्षेत्रमा घिसिङ र अनुपकुमार उपाध्यायको योगदान बिर्सन नहुनेमा उनको जोड छ। ‘बाहिर चर्चामा कम आए पनि अनुपकुमार उपाध्यायको नाम बिर्सनुहुँदैन,’ शर्माले भने। उपाध्याय तत्कालीन ऊर्जा सचिव हुन् । उपमहासचिव शर्माले पार्टी नेतृत्व चयनमा कार्यकर्ता निर्णायक हुने पनि बताए ।
उनले भने, ‘तपाईं पनि पार्टी नेतृत्वको तयारीमा हुनुहुन्छ ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले युवाको आवाज सुन्न सक्ने नेतृत्व नै प्रमुख हुने दोहोर्याए। पाथीभरा–मुक्कुमलुङ क्षेत्रको विवाद वार्ता र संवादबाटै समाधान गर्नुपर्ने उल्लेख गर्दै अर्को विकल्प नभएको उनको भनाइ थियो । स्रोतको उपयोगमा स्थानीय समुदायको स्वामित्व स्थापित हुनुपर्नेमा उनले जोड दिए ।
राजतन्त्र समर्थकहरूको सक्रियताको कुनै अर्थ नभएको भन्दै नेता शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रबाहेक अर्को शासन व्यवस्था आउन नसक्ने दाबी पनि गरेका छन्। ‘सार्वभौम नेपालीले आफ्नो अधिकार गुमाउँदैनन् र गुम्न पनि दिनुहुँदैन,’ उनले राजतन्त्रवादीप्रति संकेत गर्दै भने। ‘सानो समूहले राजतन्त्रको मुद्दा उठाइरहेको छ, तर त्यो निरर्थक छ,’ उनले थपे।