उच्च अदालत पुगेर रविले भने: सरकारको लाज छोपिदिन विभिन्न जिल्ला अदालत पुगिरहेको छु

काठमाण्डु टुडे २०८१ चैत ७ गते १५:४५ मा प्रकाशित

काठमाण्डू, ८ चैत– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले क्रान्तिका लागि समय आउँदै गरेको र त्यसका लागि तयार रहन सबैलाई आग्रह गरेका छन ।

आज (शुक्रबार) उच्च अदालत पाटन परिसरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा सभापति लामिछानेले यस्तो आग्रह गरेका हुन । सभापति लामिछाने काठमाण्डू जिल्ला अदालतको आदेशविरुद्ध निवेदन लिएर उच्च अदालत पाटन पुगेका थिए ।

उच्च अदालतबाट निस्कने क्रममा लामिछानेले सरकार नांगिएको हुनाले सरकारकै लाज छोप्नका लागि अदालतहरूमा हिँडेको बताएका छन सँगै उनले भनेका छन्, ‘समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु ।

गेट रेडि फर द रेभुलेसन ।’उनले आफ्नो बोल्ने समय एकदमै नजिक आउँदै गरेको र त्यो दिन आएपछि धेरैको बोली बन्द हुने पनि जिकिर गरे । सभापति लामिछानेले भने, ‘मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ ।

अहिले म बोल्यो भने दुई तिहाइको सरकारलाई गाह्रो पर्ला,’ लामिछानेले भने, ‘म बोल्यो भनेर गाह्रो भएको होला । जब बोल्ने समय आउँछ त्यसपछि धेरैको बोली चाहिँ बन्द हुन्छ ।’

उनले अहिले आफू आवेग र उत्तेजनामा नभएको पनि प्रष्ट पारे । म आवेग, उत्तेजनामा छैन । मुलुक एउटा गम्भीर अवस्थामा आएको छ, ‘एउटा जिम्मेवार राजनीतिक दलका हिसाबले, नेपाली जनताले आशा र भरोसाको रुपमा हेरेको दलको हिसाबले म कुनै आवेग वा उत्तेजनामा आएर अभिव्यक्ति दिने पक्षमा छैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us