काठमाण्डू, ८ चैत– पर्सामा प्रहरी कर्मचारीबाटै एकजना वडाध्यक्ष कुटिएका छन् । पर्साको वीरगञ्ज महानरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीमाथि प्रहरीसहितको समूहले हातपात गरेको बताइएको छ । आफूमाथि प्रहरी समेतको समूहले आक्रमण गरेको भन्दै न्यााय माग्दै उनी प्रहरी कार्यालय पुगेका छन् ।
घटना २९ फागुनको राति सवा ९ बजेतिरको हो । वीरगञ्ज महानगरपालिका–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण भएको थियो । उक्त पार्टी प्यालेसका सञ्चालक समेत रहेका वीरेन्द्र पासवानका छोराको बर्थ–डे कार्यक्रम र होली मित्रमिलन कार्यक्रममा गएका बेला आक्रमण भएको वडाध्यक्ष चर्तुवेदीको भनाइ छ ।
आफूमाथि ६–७ जनाको समूहले आक्रमण गरेको उनले बताएका छन । सीसीटीभी फुटेजमा समेत आक्रमण भएको देखिन्छ । पार्टी प्यालेसमा खानपिन भएरहेका बेला एक समूह हो–हल्ला गर्दै वडाध्यक्षमाथि आक्रमणमा उत्रिएको दाबी गरिएको छ । सीसीटीभी फुटेजमा वडाध्यक्ष चतुर्वेदीसहित चार जना खानपानमा व्यस्त रहेको देखिन्छ ।
त्यही समयमा निलो ज्याकेट लगाएका व्यक्ति उनीहरू भएको ठाउँ नजिक आइपुग्छन् । बसेर खाइरहेका चारमध्ये एक जना उठेर निलो ज्याकेट लगाएका व्यक्तिलाई बाहिर पठाउन खोजेको फुटेजमा देखिन्छ । फोनमा कुरा गर्दै आएका ती व्यक्ति बाहिर जान मान्दैनन् र भित्र पस्छन् । उनकै पछिपछि अरू व्यक्ति पनि आएको देखिन्छ ।
यही मौकामा पार्टी प्यालेसको अर्को ढोकाबाट एक हुल मान्छे जबरजस्ती भित्र प्रवेश गरेको देखिन्छ । त्यही समूहले वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमण गरेको फुटेजमा देखिन्छ । उक्त आक्रमण गर्ने समूहमा नेपाल प्रहरीका बहालवाला वरिष्ठ सईसमते रहेको आरोप छ । त्यहाँ दुई पक्षबीच अन्धाधुन्दा आक्रमण हुन्छ । आक्रमणबाट घाइते भएका वडाध्यक्ष चतुर्वेदी उपचारपछि अहिले घर फर्केका छन् ।
आफूमाथि प्रहरीका वरिष्ठ सई समेतले आक्रमण गरेको भन्दै वडाध्यक्ष चर्तुवेदीले जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन समेत दिएका छन् । नेपाल प्रहरीका वरिष्ठ सई सागरशमशेर राणा, प्रहरी जवान दिपेश क्षेत्री, वीरगञ्ज–१० कै वडाध्यक्ष सुशील साह कानु, वीरगञ्ज–११ का ४२ वर्षीय भुषण यादव, वीरगञ्ज–३२ का भुसाल चौरसिया, वीरगञ्ज–६ का ३७ वर्षीय विक्की गुप्ता, वीरगञ्ज–१० का लखनलाल गुप्तासहितले आफूमाथि आक्रमण गरेको दाबी गर्दै उनले प्रहरीमा निवेदन दिएका छन् । ४ चैतमा उजुरी दिए पनि प्रहरीले अहिलेसम्म तदरुकता देखाएर कारबाही नगरेको उनको गुनासो ।
‘उजुरी दिएका एक हप्तापछि बल्ल एसपी सापले बोलाउनु भएको छ । आज प्रहरी कार्यालय जान्छु, त्यसपछि मात्रै के हुन्छ भन्ने थाहा होला,’ उनले भने । यसअघि आफूमाथि साइबरको मुद्दा चलेको र त्यहीको बदलाका कारण आक्रमण गरिएको हुनसक्ने वडाध्यक्ष बताउँछन् ।