
काठमाण्डू, ७ चैत– पूर्व प्रधानमान्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएका निर्वाचनहरूमा कांग्रेस र एमालेसँग सहकार्य गर्दा आफ्नो पार्टीलाई घाटा भएको कुरा अहिले प्रमाणित भएको बताएका छन ।
आज (बिहिबार) पार्टीको जिल्ला समन्वय समिति, बाराले आयोजना गरेको तराई–मधेश जागरण सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले गत उपनिर्वाचन र अहिले जारी स्ववियु निर्वाचनको परिणामले उक्त अवस्था देखाएको बताएका छन ।
अध्यक्ष प्रचण्डले एमाले र कांग्रेसले अब माओवादी केन्द्र आफ्नौ खुट्टामा उभिन सक्दैन भनेर स्थापना गर्न थालेको भाष्य गलत सावित भएको पनि बताएका छन । उनले भने, ‘भर्खरै स्ववियुको निर्वाचन सम्पन्न भएको छ । केही कलेजमा बाँकी छ । त्यो निर्वाचनमा युवा विद्यार्थीहरूको रुझान, चेतना कतातिर जाँदैछ भन्ने कुराको बडो राम्रो संकेत दिइएको छ ।’
उनले केही क्याम्पसहरूमा नयाँ इतिहास रचना भएको भन्दै यसअघिका सहकार्यबाट माओवादीलाई घाटा भएको बताएका छन । उनले भने, ‘यो पटक साँच्चै केही नयाँ इतिहासको रचना भएको छ ।
हिजो माओवादी केन्द्र अब अरुको वैशाखी नटेकी उठ्नै सक्दैन भन्ने भाष्य एमाले र कांग्रेसहरूले बनाएका थिए, ‘गएको उपचुनावमा हामी आफ्नै खुट्टामा उभिएर परिणाम आफ्नो पक्षमा पार्न सक्छौं भन्ने बनाएका थियौं ।’ प्रचण्डले अघि थपे, ‘वास्तवमा हामी कहिले कांग्रेस र एमालेसँग सहकार्य गर्दा हामीलाई घाटा भएको नै प्रमाणित भयो ।’