
काठमाण्डू, ६ चैत– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले ठुला भनिएका दलका नेताबाट देशको समस्या समाधान नहुने दाबी गरेका छन ।
आज (बुधाबर) काठमाण्डूको माइतीघरमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा जनदबाब कार्यक्रमको आयोजना गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन ।
उनले संविधान जारी भएको ९ वर्षमा ११ वटा सरकार परिवर्तन भएर पालैपालो सरकारको नेतृत्व गरेको जनताले देखिसकेको भन्दै ठुला भनिएका दलका नेताबाट देशको समस्या समाधान नहुने पनि बताएका छन ।
पूर्व प्रधानमन्त्री डा. भट्टराईले सरकारमा रहेका बेला सबै ठिक र सरकारबाट बाहिरिएको भोलीपल्ट सबै बेठीक भनेर गफ दिनेहरूबाट देश र जनताको भलो हुन नसक्ने पनि बताएका छन ।
त्यस्तै भट्टराईले देशको समस्या राजतन्त्र ल्याएर समाधान हुन्छ भन्ने कुरामा सत्यता नरहेको बताएका छन । उनले जनताले हटाएको राजसंस्थालाई कुनै महत्त्व दिन आवश्यक नरहेको उल्लेख गर्दै राजतन्त्र आउन कुनै सम्भावना समेत नरहेको पनि बताएका छन ।
भट्टराईले अहिलेको प्रणालीले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसदीय व्यवस्था कायम हुनुपर्ने पनि बताएका छन ।