ज्ञानेन्द्रद्वारा गठित समितिमा बस्न अस्वीकार गरेका लिङदेनले आफ्नै नेतृत्वमा बनाए अर्को समिति

काठमाण्डु टुडे २०८१ चैत ४ गते १९:५५ मा प्रकाशित

काठमाण्डू, ५ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजसंस्था पुनस्र्थापनाका लागि आन्दोलन अगाडि बढाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पूर्वराजा ज्ञानेन्द्र साहको सक्रियतामा गठित आन्दोलन परिचालन समितिलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।
शाहको चाहनाअनुसार सोमबार वयोवृद्ध पूर्वपञ्च ८६ वर्षीय नवराज सुवेदीको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन भएको थियो । उक्त समितिको सदस्य सचिवमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सदस्यमा राजेन्द्र लिङदेन तथा महामन्त्री धवलशमशरेर राणालाई पनि राखिएको थियो । आफूसँग परामर्श नगरी गठित उक्त समितिमा बस्न लिङदेनले सोमबारै अस्वीकार गरिसकेका थिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लिङदेनले आफ्नो नेतृत्वमा गठित आन्दोलन परिचालन मूल समितिले आन्दोलनका कार्यक्रम तय गर्ने बताए । आगामी चैत १२ गते थप आन्दोलनका कार्यक्रम घोषणा गरिने जानकारी लिङ्देनले दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us