लेखा समिति बैठक नियमित नबसेकोमा कांग्रेसको असन्तुष्टि

काठमाण्डु टुडे २०८१ चैत ४ गते १४:२७ मा प्रकाशित

काठमाण्डू, ५ चैत– संघिय संसद अन्तर्गत प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक नियमित नबसेकोमा सत्तारुढ दल नेपाली कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ ।

आज (मंगलबार) बसेको समितिको बैठकमै कांग्रेस सांसद रामकृष्ण यादवले समितिको बैठक नियमित बस्न नसकेको भनेर सभापति ऋषिकेश पोखरेलको ध्यानाकर्षण गराएका छन ।

उनले भने, ‘समितिको बैठक पर्व र चाड जस्तो भयो । महिनामा एक दिन जस्तो मात्रै बस्दा निराशा छ ।’ सभापति पोखरेलले उपसमितिको बैठक नियमित बसिरहेको बताए ।

नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले कांग्रेस सांसद यादवको भनाइमा समर्थन जनाए । उनेले भने, ‘११४ वटा उजुरी छ । थानका थान उजुरी छ । एक दिन बिराएर बैठक बस्नुपर्ने हो ।

तर महिना महिनामा बैठक राख्नुहुन्छ । यसरी हुन्छ ?’ राज्यको सम्पत्ति दुरुपयोग भएकोमा लेखा समितिले चासो राख्नुपर्ने बताए । पोखरा र भैरहवा विमानस्थलको विषयमा समेत अध्ययनबारे छलफल चलाउन पनि सांसद आलेले माग गरे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पनि समितिको बैठक संख्या बढाउन आवश्यक रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us