काठमाण्डू उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसमा भएन स्ववियु निर्वाचन

काठमाण्डु टुडे २०८१ चैत ४ गते १३:५० मा प्रकाशित

काठमाण्डू, ५ चैत– आज (मंगलबार) भईरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत काठमाण्डू उपत्यकाका ८ वटा आङ्गिक क्याम्पसहरूमा निर्वाचन स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत उपत्यकाभित्रका २२ वटा आङ्गिक क्याम्पसहरूमध्ये ८ वटामा स्ववियु निर्वाचन रोकिएको हो ।

त्रिविले आजका लागि ६२ वटा आङ्गिक र अन्य सम्बन्धनप्राप्त कलेजहरूमा स्ववियु निर्वाचनको मिति तय गरेको थियो । तर, तालाबन्दीका कारण ति कलेजहरूमा निर्वाचन रोकिएको हो । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) र अमृत साइन्स क्याम्पसमा अन्तिम समयमा आएर स्ववियु निर्वाचन स्थगित भएको हो ।

त्यस्तै सरस्वती क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, शंकरदेव क्याम्पस, त्रिचन्द्र क्याम्पस र पब्लिक युथ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया यसअघि नै रोकिएको थियो ।

आरआर र अमृत साइन्समा भने हिजो मध्यरातदेखि तालाबन्दी भएपछि स्थगित भएको हो । आरआरमा एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियूले तालाबन्दी गरेपछि अन्तिम समयमा आएर निर्वाचन स्थगित भएको छ । त्यस्तै अमृत साइन्स क्याम्पसमा भने अखिल क्रान्तिकारीले होस्टेलको विषयलाई लिएर विवाद सिर्जना गर्दै तालाबन्दी गरेपछि निर्वाचन स्थगित भएको हो ।

ति बाहेक सरस्वतीमा अनेरास्ववियू लगायतको तालाबन्दीका कारण निर्वाचन प्रक्रिया नै अगाडि बढ्न सकेको छैन् । त्यस्तै विश्वभाषामा समेत अखिल क्रान्तिकारीको तालाबन्दीका कारण निर्वाचन स्थगित भएको छ ।

नेपाल ल क्याम्पसमा अनेरास्ववियुको तालाबन्दी छ । जसले गर्दा निर्वाचन स्थगित भएको छ । शंकरदेवमा अखिल क्रान्तिकारी लगायतको तालाबन्दीका कारण चुनाव हुन सकेन ।

त्रिचन्द्र र पब्लिक युथ क्याम्पसमा नेविसंघको तालाबन्दीका कारण निर्वाचन हुन सकेन । त्यस्तै त्रिवि केन्द्रीय क्याम्पसमा ८ गतेका लागि निर्वाचन सरेको छ । पद्मकन्या क्याम्पस बागबजारमा समेत ७ गतेका लागि निर्वाचनको मिति तोकिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us